images

चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित हुँदैनः देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चुनावी गठबन्धनबारे अहिले नै निर्णय लिनु उचित नहुने टिप्पणी गरेका छन् । सोमबार ललिपुरको गोदावरीमा कांग्रेस महासमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा देउवाले भने,’नेपाली कांग्रेसे संविधानको सुरक्षा र कार्यान्वयनको पक्षमा दृढ छ । यो हाम्रो दायित्व पनि हो । संविधानको उचित कार्यान्वयनले संविधानको दिगो शान्ति सुशासन र विकास ल्याउन सकिन्छ भन्नेमा हामी स्पष्ट छौं।’ उनले संविधान गतिशिल दस्तावेज भएको बताउँदै संविधान सुधार गर्न आवश्यक भएको उल्लेख गरे ।

उनले भने, साथीहरु हामी अहिले गठबन्धनको अभ्यासमा छौं। प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार भएपछि हाम्रो पहलमा गठबन्धन बनेको हो । गठबन्धन सरकार त्यसैको निरन्तरता हो । महासमितिमा पेस हुने सबै प्रतिवेदनले त्यसलाई समावेश गरेका छौं ।’

उनले भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने बताए । महामन्त्री गगन थापाको प्रतिवेदनमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने कुरा उल्लेख भएपछि सभापति देउवा र महामन्त्री थापाबीच टसल देखिएको छ ।