images

जनताले हारेको र नेताले जितेको प्रजातन्त्र !

देशभर ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइएको छ । जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।  १ सय ४ वर्षे  राणा शासनलाई अन्त्य गरी प्रजातन्त्रको दियो बालिएको स्मरणमा याे दिवस मनाउने गरिएकाे छ ।  प्रजातन्त्र स्थापनाका लागि जनताले ज्यानको बाजी पनि दिए । तर, जुन उद्देश्य प्राप्तिका लागि यसको उदय भएको थियो । तर राजनीतिक दलका गतिविधिले भने त्यसको परिणाम दिन सकिरहेको छैन् । 

नेपाली समाजको राजनीतिक, सांस्कृतिक र आर्थिक रुपान्तरणका लागि जनता हरेक आन्दोलनमा ठूलाे योगदान दिएका छन् । सोही योगदान अनुरुप उनीहरुले ज्यानको बाजी थापेर व्यवस्था परिवर्तनको लागि आहुती दिने गरेका छन् ।  फलस्वरुप अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । राणा शासन,पञ्चायतकाल र राजतन्त्र हुँदै अहिलेकाे लाेकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था ल्याउनका लागि जनताकाे याेगदान अतुलनीय रहेकाे छ ।

मुलुकमा छाेटाे समयमा थुप्रै  व्यवस्था फेरिएपनि नेतृत्व शैलीमा भने परिवर्तन हुन सकिरहेकाे छैन । जसका कारणा जनता शासक र शासितबीचकाे खाडल उस्तै छ ।  जनताले जुन उद्देश्यका साथ व्यवस्था परिवर्तनका लागि संघषए गरेका थिए । उक्त कुराको अनुभूति गर्न नसकेको गुनासो गरिरहेका छन् । ००७ सालको जहाँनिया राणा शासन विरुद्धको आन्दोलन होस् या २०३६ सालको निर्दलीय पञ्चायती व्यवस्था र ०४६ सालको बहुदलीय व्यवस्थाका लागि भएको आन्दोलन र ०६२/०६३ सालमा राजतन्त्र विरुद्धको आन्दोलनका लागि हजारौं जनताहरुले बलिदानी समेत दिए ।

तर परिवर्तनका लागि ज्यानको बाजी दिने नेपाली जनताको सपनामाथि नेतृत्वले पटकपटक धाेकाधडी दिइरहेकाे छ ।  अहिलेको व्यवस्था निकै उत्कृष्ट छ त्यसमा कुनै शंका छैन । तर, यो व्यवस्थाले जन्माएको नेतृत्वले त्यसलाई सही दिशामा हाँक्न सकिरहेको छैन । जनताको सपना साकार पार्ने संकल्प, लक्ष्य, उद्देश्य कार्यान्वयनको बाटोमा नभइ फगत जनमत कब्जा गर्ने हतियार बनेको छ । प्रजातन्त्र स्थापना भएको यति वर्ष बितिसक्दा जनताको अवस्था उस्तै हुनु दुखद विषय हो ।

हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने गरिन्छ । उक्त दिन जनताको त्याग र बलिदानको खुबै बखान गर्न नेताहरू पछि पर्दैनन् । सामाजिक सञ्जालदेखि सभा समाराेहमा समेत विशेष दिन भनेर बखान छेक्नेकाे कमी हुँदैन । तर  बाँकी दिनमा जनताको चासो, गुनासोको विषयमा खासै बहस हुँदैन । कतिसम्म भने जनताले नेतृत्वको खराब शैलीको खुलेरै विरोध गर्न सक्ने अवस्था छैन । त्यसमा पनि कानुन जनताका लागि मात्र बनाइएको जस्तो देखिदैछ ।

विभिन्न प्रकरणहरुमा मुछिएका राजनीतिक पृष्ठभूमिका व्यक्तिहरुलाई कारबाहीको साटो अनुसन्धान प्रक्रिया नै अघि नबढ्ने खतरा छ । गास, बास, कपासको जोहो गर्न जनताहरु विदेशिनुपर्ने बाध्यात्मक अवस्था छ । सरकारले उनीहरुलाई देशमै रोजगारीको ग्यारेण्टी गर्न सकेको छैन । यी तमाम समस्याका बीच आम जनता कष्टकर दैनिकी गुजारा गर्न बाध्य भएका छन् ।

अहिले यो व्यवस्थामाथि केही समूहहरुले प्रश्न उठाइरहेका छन् । यसका मुख्य जिम्मेवार वर्तमान राजनीतिक दलहरु नै हुन् । उनीहरुले व्यवस्थामाथि प्रश्न उठाउने परिस्थितिको निर्माण गरेका छन् । अर्को कुरा यो व्यवस्थामाथि कतैबाट खतरा छ भने त्यो नेतृत्वबाट नै छ । नेतृत्व नसच्चिए व्यवस्था नै धरापमा नपर्ला भन्न सकिन्न । बिडम्बनाको कुरा जुन व्यवस्थाका लागि जनताले ज्यान दिए त्यही व्यवस्थाका सामू पराजय भोग्नुपरेको छ ।