
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
अर्धठोस बनाएर ल्याइएको अवस्थामा ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ परेका हुन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले जानकारी दिए।
सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको छ ।