images

कोरियाले ललितपुरलाई टेबुल टेनिस खेलको विकासका लागि सहयोग गर्ने

काठमाडौं– दक्षिण कोरियाको छियोङ याङ स्पोर्टस काउन्सिलले ललितपुरे जिल्लालाई टेबुल टेनिस खेलको विकासका लागि सहयोग गर्ने भएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस संघ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुर जिल्लामा टेबुल टेनिस खेलको विकासका लागि सहयोग गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारी पत्रमा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले समझदारी पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्य उपस्थित थिए । ललितपुर जिल्लामा विशेष गरी टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान–प्रदान गर्ने विषय समझदारी पत्रमा उल्लेख छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले ललितपुर जिल्लाको तीन वटा गाउँपालिकामा टेबुलटेनिसको विकास अत्यावश्यक भएको बताए । उनले भने, ‘ती पालिकामा त टेबुल टेनिस के हो नै बुझाउनुपर्ने अवस्था छ , त्यसैले ती पालिकामा यो खेलको विकासका लागि सहयोग गरौं ।’ ललितपुर जिल्लामा एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले जिल्लाका अन्य पालिकामा टेबुल टेनिस खेलको विकासको लागि सहयोग गर्ने बताए । दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुकले ललितपुरको खेलकुद विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले ललितपुरमा खेलकुद विकासका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।