images

कांग्रेस महासमिति बैठक अन्तिम दिन,प्राप्त सुझाव प्रस्तुतिपछि बैठक समापन हुने

काठमाडौं– ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमितिको बैठक बिहीबार समापन हुँदैछ ।

छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि बैठक समापन हुन लागेको हो । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गर्नेछन् । त्यसपछि अपराह्न समापन समारोह गर्ने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । बुधबार पाँच प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो ।

बन्दसत्रको शुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए । फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन्। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिबद्धता’ नाराका साथ बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।