images

बंगलादेशसँग विद्युत् बिक्री सम्झौताको वार्ता सकारात्मक

काठमाडाैं-नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत् बिक्री वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ ।

आगामी वर्षायामदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बिपिडिबीबीच सहमति भएको छ । दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबी अन्तर्गतको बोलपत्र मूल्याकंन समितिबीच ढाकामा वार्ता भएको हो ।

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाबारे विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको बताइएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने प्राधिकरणले जनाएको छ ।