images
images
images

न्यायाधीशद्वय थपलिया र निरौला बर्खास्त

काठमाडौं– न्याय परिषद्ले विवादमा मुछिएका दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको हो । न्यायपरिषद्ले उच्च अदालतका १ जना र जिल्ला अदालतका ३ जना न्यायाधीशमाथि छानबिन गरिरहेको थियो । जसमा थपलिया र निरौला बर्खास्तमा परेका हुन् ।

जिल्लाका ३ र उच्चका १ सहित चारजना न्यायाधीश कारबाहीको सूचीमा थिए । छानबिन अघि बढेपछि गत माघ ७ गते नै जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिएका थिए। बर्खास्तीमा परेका न्यायाधीश थपलिया पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर मुद्दामा सेटिङ गरेको आरोपमा मुछिएका थिए । न्याय परिषद्ले गत पुसमै न्यायाधीश थपलियाको जिम्मेवारी खोसेको थियो ।

उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्मा तानिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया काम गरेको पुष्टि भएको उल्लेख थियो ।

निरौलाले भने काठमाडौं जिल्ला अदालतमा रहँदा भ्याली कोल्ड स्टोरका सञ्चालक हरिबहादुर रावलका छोरा बाबुराजालाई अपहरण गरी फिरौती लिने समूहका अभियुक्त दुर्गाबहादुर बुढाथोकीलाई अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए। अदालतले प्रमाण नबुझी फैसला गरिदिएको तथ्य सार्वजनिक भएपछि निरौला विवादमा तानिएका थिए । उनै न्यायाधीश निरौलाले मिटरब्याजीलाई सफाइ दिने निर्णय पनि गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS