images

कलाकार कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्धा दर्ता

काठमाडौं– टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता एवम् कलाकार कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएको छ ।

इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए ।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाले आरोप लगाएकी छिन् ।

पीडित महिलाले मुलुकी अपराध संहिताको दफा २१९, दफा २२३ र दफा २२४ को कसुरमा कारबाहीको माग गरेकी छिन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणीसम्बनधी कसुर उल्लेख छ भने दफा २२३ मा कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने सम्बनधी कसुरबारे उल्लेख छ । त्यस्ता व्यक्तिलाई करणी गरेमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिलालगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । गाली बेइज्जती मुद्धा दायर भएसँगै कँडेलले कलाकारहरुसँग सहमती गराएका थिए । उनीहरुलाई पूनः काममा फर्काउने सहमती भएको थियो । अरु कलाकारहरुले त्यस विषयमा सहमती जनाए पनि सर्मिला श्रेष्ठले भने असहमती जनाएकी थिइन् ।