images

पञ्चायतका भूतहरु सदनभित्र छिरे,यीनिहरुले झुक्काउने र तर्साउने बाहेक केही गर्न सक्दैनन्ः दाहाल

काठमाडौं–नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले राप्रपालाई लक्षित गर्दै पञ्चायतका भूतको संज्ञा दिएका छन् । स्पेस समाचारसँग कुरा गर्दै सांसद दाहालले मुलुकमा कुनै पनि हालतमा राजतन्त्र नफर्किने जिकिर गरे ।

प्रतिनिधि सभामा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र सांसद दाहालबीच तल्लो स्तरमा आएर वादप्रतिवाद भएको थियो । उक्त कुरालाई इंगित गर्दै सांसद दाहालले भने,’पञ्चायतका भूतहरु सदनमा छिरेका छन् । बेलाबेलामा सल्बलाउने र कराउने काम मात्र गरिराखेका छन् । उनीहरुले जनतालाई झुक्याउने र तर्साउने बाहेक अरु काम गर्न सक्दैनन् ।’

सांसद दाहालले राजतन्त्रलाई फोहोरको डुङगुरमा फालिसकेकाले फोहोरलाई चलाउँदा दुर्गन्दित बनाउन आफूले नचाहेको उल्लेख गरे । उनले आफू सत्ता साझेदार दलहरुको नेतृत्व गर्दै सरकारको नेतृत्व गरेका कारण यी कुरालाई समान्य रुपमा लिएको तर्क गरे ।

उनले मरेको मान्छे फर्कदैन भन्दै मरिसकेको राजतन्त्र फेरि फर्काउँछु भनेर दुश्प्रयत्न गर्ने कुरामा नअल्झिन पनि सुझाव दिए । उनले हालको लोकतान्त्रीक गणतान्त्रत्मक व्यवस्था विगत ७० वर्षदेखि अनवरत संघर्ष गरेर नेपाली जनताले ल्याएको व्यवस्था भएको बताए । निरन्तर लडेर पञ्चायतलाई चिहानमा लगेर पुरिसकेको र फेरि राजतन्त्र फर्किन्छ भन्नु अवैज्ञानिक तर्क भएको उनको भनाइ छ ।