images

निजगढमा भएकाे विस्फोटमा परि मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं–बाराको निजगढस्थित सहिद चोकमा रहेको वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सोमबार सिलिन्डर ग्यास विस्फोट हुँदा रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको थियो । त्यसै गरि विस्फोटमा परि दुई जना घाइते भएका थिए । मंगलबार उपचारका क्रममा  घाइते दुबै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत गवई घर हुने ३५ वर्षीय राकेश जयसवाल र वीरगन्ज-९ का २० वर्षीय रीतु रजत रहेकाे प्रहरीले जनाएकाे छ ।

सोमबार सिलिन्डर ग्यास विस्फोट भएको भनिए पनि अझै विस्फोट भएको वस्तु यकिन नभएको प्रहरीको भनाइ छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा कवाडी सामान बेच्ने निजगढ-९ का टीकाराम पाख्रिन र कवाडी सञ्चालक राज भनिने रमेश जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।