images

राष्ट्रिय सभा सदस्यहरुले लिए शपथ

काठमाडौं– राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ ग्रहण गरेका छन् ।

सोमबार संघीय संसद भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

सोमबार राष्ट्रिय सभा सदस्यहरु रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटाले सपथ ग्रहण गरेका हुन् । त्यस्तै झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले समेत पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो  ।