images

कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठनबन्ध दल फेरेसँगै कांग्रेसले आकस्मिक रुपमा पदाधिकारीको बैठक बसेको छ । बैठकमा पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे समिक्षा गरेका छन् ।

बैठकमा उनले प्रधामन्त्री प्रचण्डले अविश्वासका साथ गठबन्धन तोडेको आरोप समेत लगाएका छन् । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले एक्कासि र विश्वास नै गर्न नसकिने गरी गठबन्धन तोडेको सभापतिले पदाधिकारी बैठकमा जानकारी गराएको बताए।

प्रमुख सचेतक लेखकले भने,‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो। अब हामी प्रतिपक्षमा रमाउछौँ। उनले कांग्रेसका कारण गठबन्धन नतोडिएको बताउँदै, सभापतिले नयाँ रणनीतिले पार्टी अघि बढ्ने बताउनुभयो,’ उनले सभापतिको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौं भन्थ्यौं। अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं,’ उनले भने। गठबन्धन प्रधानमन्त्रीले तोडेको भन्दै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा पनि नदिने उनले बताए।

‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ? जेजे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ,’ उनले भने।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले,रास्वपा सहितका दलहरुसँग गठबन्धन गरेर अघि बढ्ने संकल्प सहित सहमती गरिसकेका छन् ।