images

नाबालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं– सर्लाहीमा बोल्न नसक्ने १२ वर्षीया बालिकाको बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नं ८ बस्ने ३५ वर्षीय टेके सार्की रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

बलात्कार गरी फरार रहेका आरोपित रम्तेललाई शनिबार दिउँसो ईश्वरपुर ८ बाट पक्राउ गररिएको थियो । उनलाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियार थारुले जानकारी दिए।

गत बैशाख ७ गते दिउँसो ईश्वरपुर १० स्थित फुलजोर खोलामा रम्तेलले १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको र बालिका गर्भवती भई पुसमा छोराको समेत जन्म दिएको भनी प्रहरीमा उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको प्रवक्ता थारुले बताए।

पीडित बालिकाको जाहेरीपछि विशेष शारीरिक जाँचको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । उनीबाट जन्म भएको नावालक शिशुको डिएनए जाँचको लागि नमुनासमेत संकलन गर्न लगाई काठमाडौं पठाइएको छ।

नवजात शिशुको भने गत बुधबार उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।