images

सत्ता गठबन्धनविरूध्द वैकल्पिक गठबन्धन बनाउने कांग्रेसको तयारी

काठमाडौं–सरकारको नेतृत्वबाट एकाएक बाहिरिनु परेपछि नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन निर्माणमा रणनीतिक योजना अघि बढाएको छ । उसले नेकपा एकीकृत समाजवादी लगायतका दलहरुसँग आन्तरिक छलफल अघि बढाएको छ । सभापति शेरबहादुर देउवा त्यसकै लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले धाेका दिएकाे महशुस गरेका देउवा त्यसकाे बदला लिने दाउमा छन । अहिले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन तारान्तर पहल भइरहेका बेला कांग्रेस पनि त्यसमा सक्रिय देखिएको छ । समिकरण निर्माण हुँदा गरेका सहमतिहरु लत्याउँदै आफ्नो स्वार्थका लागि कदम चाल्ने प्रधानमन्त्री दाहाललाई जसरी भएपनि फेल गराउने पार्टीको रणनीति भएको एक नेताले स्पेस समाचारलाई जानकारी दिए ।

उनले भने, ‘अहिले माओवादीको नेतृत्वमा नयाँ समिकरण निर्माण भइसकेको छ । त्यो समिकरण कांग्रेसलाई पाखा लगाउनका लागि बनेको हो । उनीहरु हाम्राविरुद्ध यसरी लागिरहेका छन् भने हामीले पनि केही विकल्प खोज्नुपर्ने हुन्छ । त्यसका लागि हामीले राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग छलफल अघि बढाइरहेका छौं ।’

कांग्रेसले रास्वपालाई प्रधानमन्त्रीको अफर गरेर नयाँ समिकरणको हल्ला चलिरहेका बेला नेताहरुको दौडधुप चलिरहेको छ । सरकारले परिणाम दिन नसकेको दोष कांग्रेसलाई देखाउँदै नयाँ समिरकण बनाएका प्रचण्डलाई जसरी भएपनि पाखा लगाउने रणनीति कांग्रेसको छ ।