images

सूदुरपश्चिम सरकारबाट एकीकृत समाजवादी बाहिरियो, कांग्रेस सरकार अल्पमतमा

काठमाडौं–केन्द्रमा बदलिएको सत्ता समिकरणसँगै सुदूरपश्चिम प्रदेश सरकारमा रहेको नेकपा एकीकृत समाजवादी सरकारबाट बाहिरिएको छ । नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीको नेतृत्वमा नेकपा एकीकृत समाजावादी सरकारमा सहभागी रहेको थियो ।

केन्द्रमा नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाउँदै सरकारमा सहभागी भएपछि प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।

शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।

मुख्यमन्त्री शाहले यसअघि माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए ।