images

खाल्डोमा गाडिएको अवस्थामा बालकको शव फेला, बुबा आमा प्रहरीको नियन्त्रणमा

काठमाडौं– प्रहरीले वीरगन्जको शम्सानबाट गाडिएको एक बालकको शव बरामद गरेको छ ।

प्रहरीले बिहीबार राति वीरगन्जको राधेमाई नजिकको सिर्सिया नदि छेउको शम्सानघाटमा खाल्डो खनेर गाडिएको बालकको शव बरामद गरेको थियो । उक्त शव खाल्डोबाट निकालेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका शम्भु महतो धानुकका छोरा १२ वर्षीय दिलिप मण्डल धानुकको शव उनकै अभिभावकले कसैलाई थाह नदिई बिहीबार बेलुकी शम्सानघाटमा लगेर खाल्डो खनेर गाडेको खबर प्रहरीले पाएको थियो । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोली बिहीबार बेलुकी शम्सानघाटमा पुगेको थियो। त्यहाँ पुग्दा दिलिपको शव अन्दाजी दुई फिट गहिरो खाल्डो खनेर त्यसभित्र राखेर माथिबाट बालुवाले पुरेको अवस्थामा भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

बालकको मृत्युको खबर अभिभावकले गोप्य राखेको, प्रहरीलाई समेत खबर नदिएको र शव पोष्टमार्टम नगरी शम्सानघाटमा लगेर गाडेकोले घटना शंकास्पद देखिएको थापाले बताए । मृत बालक दिलिपका बुबा शम्भु र आमा सबितालाई सोधपुछका लागि बिहीबार राति नै नियन्त्रणमा लिइएको थापाले बताए । मृत बालकका छिमेकीका अनुसार, दिलिपलाई उनका आमा–बुबाले बिहीबार घरकै एक कोठामा थुनेर ज्यालामजदुरीका लागि घरबाट निस्किएका थिए ।

कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर शम्सानघाटमा लगेर गाडेको बुबा शम्भुले स्विकारेको प्रहरी नायब उपरीक्षक थापाले बताए। बालक दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न गरेकाले थुनेर राखेको बयान दिएका छन् ।