images

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेद्वारी दिने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा शनिबार बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन विपक्षमा रहेका अन्य दलहरुसँग सहयोग खोज्ने निर्णय पनि गरेको छ ।

उम्मेदवारको टुंगो भने राष्ट्रियसभा सदस्यहरुसँग छलफलपछि टुंग्याइने बताइएको छ । यस अघि राष्ट्रियसभा सदस्य निर्वाचन अघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरिएको थियो । सोही अनुसार तत्कालिन सत्ता गठबन्धनले सौटौलालाई कोसी प्रदेशबाट उम्मेदवार बनाइ निर्वाचितसमेत गरेको थियो । तर, गठबन्धन फेरिएपछि सत्तारुढदलहरुबीच नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको छ । माओवादी केन्द्र राष्ट्रिय सभाको ठूलो पार्टी पनि हो । माओवादीका राष्ट्रिय सभामा उपाध्यक्षसहित १७ सांसद छन् । राष्ट्रिय सभामा मनोनित नारायणप्रसाद दाहाल पनि माओवादीका नेता हुन् । त्यस्तै, वर्तमान सत्ता गठबन्धनमा रहेका एमालेका १०, एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टीका ३ सांसद छन् । राष्ट्रिय सभामा लोसपाका १, राष्ट्रिय जनमोर्चाका १ र मनोनित २ सांसद रहेका छन् ।

राष्ट्रिय सभामा मनोनित सांसद वामदेव गौतम र नारायण दाहाल हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिएको थियो । तिमिल्सिना विदा भएपछि खालि रहेको उक्त पदमा फागुन २९ मा गते निर्वाचन गर्ने तय भएको छ ।

त्यसै गरी नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत भएका छन् ।

कांग्रेस सभापति देउवाले सिटौलालाई राष्ट्रिय सभाको संसदीय दलको नेता मनोनयन गरेका हुन् ।