images

सहकारी ठगीको आरोपमा एकै परिवारका नौ जनाविरूध्द मुद्दा

काठमाडौं– सहकारी ठगीमा पर्वतका एकै परिवारका नौ जनालाई मुद्दा चलाइएको छ । एकै परिवारका सदस्यहरूमार्फत दुई सहकारी सञ्चालन गरी सर्वसाधारणको रकम दुरुपयोग गरेको भेटिएपछि दुवै सहकारीमा रहेका एकाघर परिवारका नौ जना विरुद्ध सहकारी ठगीको मुद्दा दर्ता भएको हो ।

सदरमुकाम कुस्मामा रहेको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थामा रहेका एकै परिवारका ९ जनालाई मुद्दा चलाइएको हो । १० जना मध्ये १ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने अन्य २ जना धरौटीमा र बाँकी ६ जना फरार सूचीमा रहेका छन् ।

तपाई हाम्रो सहकारीका सञ्चालक बाल गोपाल श्रेष्ठ र माता पाथिभरा सहकारीका सञ्चालक किशोर श्रेष्ठ दाजुभाइ हुन् । उनीहरू दुवै जनाले सहकारी सञ्चालन गरेर सर्वसाधारणको पैसा अपचलन गरेको उजुरीका आधारमा प्रहरीले मुद्दा चलाएको हो । दाजुभाइ मध्ये दाजु बालगोपाल श्रेष्ठ फरार रहेका छन् भने भाइ किशोर श्रेष्ठलाई पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।

तपाईँ हाम्रो सहकारीमा मुद्दा चलाइएकाहरूमा अध्यक्ष बाल गोपाल श्रेष्ठ सहित बाबु कर्ण बहादुर श्रेष्ठ, आमा शकुन्तला श्रेष्ठ, भाइ किशोर श्रेष्ठ, बुहारी विनीता श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भान्जी अञ्जलि श्रेष्ठ रहेका छन् । त्यस्तै माता पाथिभरा सहकारीमा अध्यक्ष किशोर श्रेष्ठ, भाउजू सत्या श्रेष्ठ, दिदी बिन्दु श्रेष्ठ र भिनाजु राजेन्द्र श्रेष्ठ रहेको जिल्ला अदालतले जनाएको छ ।

दुई सहकारी मध्ये तपाईँ हाम्रो सहकारीका २२ जनालाई मुद्दा दर्ता गरेकोमा २ जनालाई पुर्पक्षका लागि थुनामा र २ जनालाई रु ३०/३० लाख धरौटीमा रिहा गरेको छ । साथै अध्यक्ष श्रेष्ठका बाबुआमालाई समेत जनही १ लाख पचास हजार धरौटीमा रिहा गरेको छ । साथै माता पाथीभराका २२ जनालाई ठगी मुद्दा दर्ता गरेकोमा १ जनालाई मात्रै पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

उनीहरू २ वटा सहकारी सञ्चालन गर्दा अधिकांश आफ्ना परिवारका राखेका थिए । दुवै सहकारी नाम मात्रै फरक भएको तर कारोबार भने मिलेर गर्ने गरेको पाइएको हो ।