images

फरक विचारले परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ

काठमाडौं–पछिल्लो समय सरकारमा जाने कि नजाने ? सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद समाचार माध्यमबाट छताछुल्ल भयो । निर्वाचन आयोगले अध्यक्षमा अयोग्य घोषित गरेका रेशम चौधरी केन्द्र सरकारमा सहभागी हुन नहुने र प्रदेशमा सहभागी हुने अडानमा देखिए ।

तर रेशम पत्नी समेत रहेकी रञ्जिता श्रेष्ठले भने प्रदेशमा सहभागी भएका मन्त्रीहरुलाई अविलम्ब फिर्ता हुन उर्दी जारी गरिन् । यस क्रममा श्रीमान र श्रीमतीबीचको द्धन्द्ध छताछुल्ल हुने गरि सामाजिक सञ्जालमै पोखियो । मंगलबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा समेत दुई वटा विज्ञप्ति नै सार्वजनिक भए । विश्वासको मत नदिन भन्दै श्रीमती रञ्जितालाई फकाउन नसक्दा रेशमले बुधबार विहान मैले तिमीलाई फकाउन सकिन प्रिय भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्यस लेखे ।

विश्वासको मत लिने क्रममा समेत रञ्जिता सत्तापक्षकै सांसदको रोहमा बसेकी थिइन् । प्रचण्डले विश्वासको मत पाउँदा समेत उनी प्रचण्डसँगै उभिएर फोटो सुट समेत गरिन् । यी घटनाक्रमलाई अनौठो रुपमा हेरिरहँदा रञ्जिताले भने यो सामान्य कुरा भएको प्रतिक्रिया दिएकी छिन् ।

बुधबार संसद भवनबाट बाहिरने क्रममा पत्रकारहरुसँग कुरा गर्दै भनिन्,‘पार्टीगत रुपमा उहाँ र मेरो मत फरक फरक भएको हो । तर, परिवार छुट्टै कुरा हो । पार्टी छुट्टै कुरा हो । फरक विचारले परिवार फुट्दैन’ रञ्जिताले दोहोर्‍याइन्, ‘उहाँ (रेशम चौधरी)ले स्ट्याटस लेख्दा म सँगै छु ।’उनले पारिवारिक रुपमा कुनै समस्या नरहेको समेत दोहोर्याएकी थिइन् ।