images

हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही,इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यस्तै उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष विरकुल्ली बुढा र वडा नम्बर ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उनीहरूले खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको तथा झुटा बिल भरपाई तयार गरेको अख्तियारको दाबी छ ।