images

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु

काठमाडौं–रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरे थप ७ जनाको मृत्यु भएको पुष्टि गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर बिक., बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांक अनुसार रसियामा मृत्यु हुने नेपालीको सङ्ख्या १९ पुगेको छ ।

यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २ सय भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ ।

यसै गरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि सरकारले रुसलाई पुनः अनुरोध गरेको छ ।

रुसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले फागुन १२ गते रुसी सेनामा ५३१ नेपाली युवा रहेको विवरण सार्वजनिक गरेको थियो । अभियानका अनुसार ११६ जना नेपाली घाइते छन् ।