images

कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन: अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री पुनले कुनै पनि अभियोग पुष्टि नभई नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क समेत गरेका हुन् ।
शुक्रवार गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै नेपाली कांग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो । संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भए पनि त्यसैलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैर जिम्मेवार बन्न नहुने बताएका छन् । उनले संयमताका साथ सदन बैठक सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह समेत गरे ।
मन्त्री पुनले भन्नुभयो, ‘गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन । किनभने कुनै उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिस गरेको वा यस्तै खालको विषय होइन । र राजनीतिक रूपले अलिकति सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि अलिकति आक्रमण भएको छ । यदाकदा म माथि पनि भएको छ । गृहमन्त्रीलाई आक्रमण हो, हेर्ने नजर चाहिँ अर्थमन्त्रीलाई हो भनिन्छ । त्यसो गर्नुहुँदैन । यो राजनीतिमा सामान्य परिवर्तन भई रहन्छ । समीकरण परिवर्तन भइराख्छ । जिम्मेवार राजनीतिक दलले संयमपूर्वक नै भूमिका गर्नुपर्छ भन्ने मेरो अनुरोध छ । छिट्टै प्रमुख प्रतिपक्ष दलका नेता साथीहरूले सांसदलाई सुचारु गर्ने, विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई सुचारु गर्नलाई सहयोग गर्नुहुन्छ भन्ने मेरो अनुरोध छ ।’
मन्त्री पुनले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको भूमिकामा उभ्याउनुपर्ने समेत उल्लेख गरेका छन् ।