images

महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृतसहित २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं–महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले २४ जनाविरुद्ध ११  लाख ९६ हजार ६९५ रुपैंयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाएको छ ।
अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरुद्ध पनि ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।
यस्तै रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिव धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङ्ग, महोत्तरी, बर्दिबास नगरपालिका–१ बस्ने जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोसी गाउँपालिका–४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि अख्तियारले ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दाबी गरेको छ ।
त्यसै गरी सव–डिभिजन वन कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुङ्गेल र दिलीप महतोविरुद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
नापी कार्यालय, बर्दिबास महोत्तरीका तत्कालीन अमिन राम दरश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का  र बर्दिबास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष चूडामणि पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउतविरुद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।