images

दीपक मनाङे चौथो पटक मन्त्री बन्दै

काठमाडौं– मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् । राजनीतिक समीकरण बदलिएसँगै मनाङेले एकीकृत समाजवादी छोडेर स्वतन्त्र रहेको घोषणा गरेका थिए।

मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनाउने तयारी गरिएको छ । शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई भनिएको छ ।

मनाङे चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।