images

ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं–रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ईशनाथ नगरपालिका–५ स्थित श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्तासहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार प्रतिवादी बनाइएका नगरपालिका तत्कालीन इन्जिनियर सत्यपाल सौरभले ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न बिल पेस गरेका थिए ।  अर्का प्रतिवादी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय कार्य बराबरको रकम खर्च भएको देखिए पनि उनले दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहम्मद समिम अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेका थिए ।