images

माओवादीले महराको बारेमा निर्णय लिन सकेन

काठमाडौं–नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ । मङ्गलवार बिहान बसेको माओवादी केन्द्रको बैठकले पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराको विषयमा निर्णय लिन नसकेको हो ।

पार्टी उपाध्यक्ष समेत रहेका महरा सुन काण्डमा पक्राउ परेसँगै माओवादी केन्द्रले मङ्गलवार बिहान पदाधिकारीको बैठक बोलाएको थियो । बैठकमा उपाध्यक्ष महराको पक्राउको विषयमा विविध कोणबाट छलफल भएको भए पनि निर्णय लिन नसकेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ’, प्रवक्ता सापकोटाले भने, ‘बैठकले कुनै निष्कर्ष भने निकालेको छैन ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिनु पर्ने भएकाले ठोस निष्कर्षमा नपुगेको माओवादी केन्द्रले जनाएको छ ।