images

२१ वर्षअघि साथीको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ 

काठमाडौं–नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलवार पत्रकार सम्मेलन गरी २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राईलाई सार्वजनिक गरेको हो ।
 ४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताएका छन् । शाहीको २१ वर्षअघि काठमाडौं महानगरपालिका १९ मरु ढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।
त्यस्तै प्रहरीले १६ वर्षअघि धर्मराज विष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । २०६४ साल, असार २६ गते ललितपुर जिल्लको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज विष्टको हत्या भएको थियो । सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४१ वर्षकी धादिङ बुढाथुम गाविस ३ घर भई हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा अधिकारी रहेको प्रहरीले जनाएको छ । धर्मराज विष्ट मीन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र उनीसँग सामान्य चिनजान रहेको प्रहरीले जनाएको छ ।
विष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेको कुरा भाइ विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीसँग मिलेर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।