images

रुस-युक्रेन युद्धमा थप १५ नेपालीको ज्यान गयो, डिएनएको नमुना पठाइदिन रुसको ताकेता 

काठमाडौं–रुस–युक्रेन युद्धमा थप १५ जना नेपाली युवाहरूले ज्यान गुमाएको तथ्य सार्वजनिक भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सामेल ३२ नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।
मृत्यु भएका थप १५ जना पाँच महिनादेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ । रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेको छैन । परराष्ट्रले यसअघि १७ जनाको मात्र मृत्युको आधिकारिक पुष्टि गरेको छ ।
रुसले पठाएको नयाँ सूची अनुसार टीकाबहादुर राना मगर (तेह्रथुम), जितबहादुर पुन मगर  (दाङ), अभिषेक बुढा (दाङ),चन्द्रबहादुर बिसी (बाँके), घनश्याम शाही (मोरङ), प्रेमबहादुर कठायत (अछाम) खोमबहादुर भुजेल(ओखलढुङ्गा), विमलकुमार गजमेर (धनुषा) रहेका छन् । त्यसैगरि प्रेमप्रकाश न्यौपाने(नवलपरासी) भीमबहादुर बिसी (नवलपरासी), क्षितिज बस्नेत (खोटाङ),  सोमेश सुनुवार(प्युठान), विकास राई(प्युठान)
,विजयबहादुर थोकर (मकवानपुर) र  जितेन्द्रबहादुर घिसिङ(मकवानपुर)को ज्यान गएको रुसी सरकारले जनाएको छ ।
 ‘रुसी सेनामा कार्यरत नेपाली नागरिक भनिएकाको शवको पहिचानका लागि निज परिवारका सदस्यहरूलाई सम्पर्क गरी निजको आइडेन्टिफिकेसन मार्क एवं जेनेटिक टेस्टिङका लागि निकट पारिवारिक सदस्यको डिएनए नमुना उपलब्ध गराइदिन रुसी परराष्ट्र मन्त्रालयको पत्रमार्फत अनुरोध भएको छ,’ मस्कोस्थित नेपाली दूतावासद्वारा कन्सुलर विभागमा पठाइएको पत्रमा उल्लेख छ ।