images

 पूर्व राजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेले छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गरः अध्यक्ष लिङ्देन 

वीरगन्ज  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन ठुला दलहरूलाई चुनौती दिएका छन् ।  वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठुला दलहरूले दरबार हत्याकाण्डमा पूर्व राजालाई मुछ्ने गरेको बताए ।
उनले भने,`जब जब राजाको लोकप्रियता बढ्छ तब तब ठुला दलहरूले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन् ।´ उनले थपे,`बारम्बार दरबार हत्याकाण्डसँग जोडेर पूर्व राजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरूले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्य तथ्य सार्वजनिक गरुन् ।´
`यदि दरबार हत्याकाण्डमा पूर्व राजा दोषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड,माधव नेपालहरू पटक पटक प्रधानमन्त्री भए ।आफू पटक पटक प्रधानमन्त्री भएका बेला ती नेताहरूले दरबार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई  जेलमा हालेनन् ?, लिङ्देनकाे प्रश्न थियो ।
अध्यक्ष लिङ्देनले गणतन्त्र र सङ्घीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए । राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थन पनि प्राप्त भइरहेको दाबी उनले गरे ।
अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र सङ्घीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए । यसमा कुनै पनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने उनले बताए ।
अध्यक्ष लिङ्देनले भने,`विदेशीको साथ र सहयोगबाट आउने कुनै पनि परिवर्तन स्थायी हुँदैन । जनताको लागि पनि हितकर हुँदैन ।यो कुरा गणतन्त्र ,धर्मनिरपेक्षता र सङ्घीयताले नै पुष्टि भइसकेको छ ।´
त्यसै कारण नेपालमा गणतन्त्र र सङ्घीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै चाहना र बलमा हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले दाेहाेर्याए। गणतन्त्र र सङ्घीयताले नेपालीको पहिचान,धर्म,भाषा,संस्कृतिलाई खतरामा पारेकाले राप्रपाले गणतन्त्र र सङ्घीयता खारेजीको माग गरेको उनले बताए । पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवल शम्सेर जबरा, नेता रवीन्द्र मिश्र, सांसद ज्ञानेन्द्र शाही, वीणा जयसवाल लगायतको पनि उपस्थिति थियो ।