images

प्रधानाध्यापकको लापरवाही ४५ वर्ष पुरानो विद्यालय धराशायी हुने अवस्थामा

सिरहा-  विकासको प्रमुख औजार भनेको शिक्षा हो। शिक्षा प्राप्त गर्ने थलो विद्यालय हो। विद्यालय शान्ति क्षेत्र हो भन्ने विश्वव्यापी मान्यता छ।तर, विद्यालयमा शिक्षकको अनियमितता, स्थानीय जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाईको मनपरितन्त्र र राजनीतिकरणले सिरहा लगायत मधेस प्रदेशको सामुदायीक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गइरहेको छ।  यसको उदाहरण हो सिरहाको श्री आधारभूत विद्यालय रामनगर गुलरिया।

विद्यालयका प्रधानाध्यापकको चरम लापरबाही र राजनीतिक चलखेलले ४५ वर्ष पुरानो विद्यालय विद्यार्थी विहीन बनेको छ। सिरहा नगरपालिका ९ स्थित २०३५ सालमा स्थापना भएको श्री आधारभूत विद्यालय रामनगर गुलरियाका प्रधानाध्यापक श्याम कुमार यादवको चरम राजनीतिक चलखेलका कारण विद्यालय विद्यार्थी विहीन भएका हुन्।

कुनै समय खचाखच विद्यार्थी रहने यो विद्यालयमा अहिले खोजाखोज पारेर १०/१२ जना विद्यार्थी भेला पार्नु पर्ने अवस्था छ। २०७३ पछि श्याम कुमार यादवले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न थालेपछि विद्यालयको अवस्था खस्कँदै गएको स्थानीयहरू बताउँछन्। उनी २०५५ सालदेखि यसै विद्यालयमा कार्यरत छन्। अर्का शिक्षक सावित्री शर्मा पनि यही विद्यालयमा २०५३ सालबाट काम गरिरहेका छन्।

पाँच कक्षासम्म पढाई हुने यस विद्यालयमा दुई जना शिक्षक छन्।दुवै शिक्षक एकैपटक विरलै विद्यालय आउने स्थानीयको भनाई छ।

स्थानीय अमलेश यादवका अनुसार पहिला राम्रै विद्यार्थी उपस्थित हुन्थ्यो तर, पछिल्ला दिनमा शिक्षकहरू नै विद्यालय नआउने भएपछि विद्यार्थी कम हुँदै गएको हो। उनले भने, ‘बाल बालिकाकालाई विद्यालय पढ्न पठाउने हो। अहिले जम्मा दुई जना शिक्षकहरू छन्। उनीहरू पनि नियमित नआउने भएपछि गाउँलेले अन्यत्र विद्यार्थी पठाउन थाले अहिले विद्यालयमा विद्यार्थीको अवस्था शून्य छ।’\

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाई हुन्थ्यो, एक सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत थिए। तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालय सुधारका लागि विद्यालय प्रशासनसँग पटक पटक आग्रह गरिसक्यौँ। तर, हाम्रा कुराको सुनुवाइ नै भएन, अहिले शिक्षकहरूलाई मन लागेको दिन गाउँ चाहरेर ल्याएको विद्यार्थीसँग एक छिन अलमलिने गरेको छु।’

कोरोनापछि ३ वर्ष विद्यालय बन्द रहे। त्यस वेला शिक्षकहरूले घरै बसेर तलब खाए। यो कुरा प्रअ यादव आफै स्वीकार गर्छन्।

विद्यालय धारासायी हुने अवस्था देखेपछि शैक्षिक सत्र २०८० मा स्थानीय सामाजिक अगुवा र जनप्रतिनिधिले ५५/६० जना विद्यार्थी खोजेर भर्ना गराए पनि प्रअको लापरबाहीले विद्यार्थी १२/१५ जनामा झरेको वडा अध्यक्ष रामदयाल यादवले बताए। उनले भने, ‘हामीले विद्यालयलाई सुधार गर्न धेरै प्रयास गर्‍यौँ। एक जना स्वयंसेवक (निःशुल्क)शिक्षक राखेर धेरै मेहनत पछि विद्यार्थी जम्मा गरायौँ। प्रअले ती शिक्षकमाथि पनि अनावश्यक आरोप लगाउन थालेपछि आउन छाडे अहिले फेरी उही अवस्थामा पुगेको छ।’

प्रअ यादव भने अभिभावको लापरबाही र नजिकै निजी विद्यालय खुलेकाले विद्यार्थी कम भएको बताउँछन्।

उनले २५ वर्ष भन्दा लामो समयदेखि यहीँ विद्यालयमा बसेका शिक्षकहरू छन्। उनीहरूको सरुवा नभएसम्म विद्यालयमा सुधार आउने मैले देखेको छैन। उनले भने, ‘मैले यस विद्यालयको सुधारको लागि कम्तीमा प्रअको सरुवा गर्नुपर्ने नगर शिक्षा समितिमा माग गरेको छु।’

यस विद्यालयमा विद्यार्थी संख्या न्यून छ। आएका विद्यार्थीको हाजिरी समेत हुँदैन। आधारभूत विद्यालयका लागि पुग्ने भौतिक पूर्वाधार भए पनि कालो पाटी (ब्ल्याक बोर्ड) नभएको र धुलाम्मे कक्षाकोठामा पढाउने गरेको विद्यार्थीहरू बताउँछन्। अहिले १५ जनाको हाराहारीमा विद्यार्थी आउने गरेको प्रअ यादव आफै बताउँछन्।

सिरहा नगरपालिका शिक्षा शाखामा भने ५५ जना विद्यार्थीको ई मिस भरिएको शिक्षा शाखाका काशिन्द्र यादवले जानकारी दिए। उनले पनि विद्यालयको अवस्था चिन्ता जनक रहेको बताए। उनले अबको दिनमा त्यहाँ तलब बाहेक केही सुविधा पठाउन सकिने अवस्था नरहेको बताए।

प्रधानाध्यापक यादवले भने साउनमै विद्यार्थी हाजिरी रजिस्टर चोरी भएकाले विद्यार्थीको हाजिरी हुन नसकेको बताए। विद्यालयमा तलब बाहेकका रकम नआएकोले नयाँ रजिस्टर खरिद गर्न नसकिएको प्रअको भनाई छ।

यस विषयमा शिक्षिका शर्मासँग फोन वार्तालाप गर्दा विद्यालयमा लामो विवाद रहेकाले फोनमा सवै कुरा भन्न नसकिने बताए।

उनले थपे, ‘विद्यालयको बैङ्क खाता म र अर्का शिक्षक सावित्री शर्माको नाममा छ। राजनीतिक प्रभावका कारण उहाँले तलबभन्दा अन्य रकम निकासामा हस्ताक्षर नगरिदिँदा पनि समस्या हुने गरेको छ।’

दशक देखि विद्यालय व्यवस्थापन विहीन

राजनीतिक खिचातानी र विवादका कारण पछिल्लो एक दशकदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन। कहिले प्रअले चाहेको जस्तो व्यक्ति नपाउँदा त कहिले अभिभावकले भनेजस्तो व्यक्ति छनोट हुन नसक्दा व्यवस्था पनि समिति गठन हुन नसकेको स्थानीय युवाहरू बताउँछन्।

प्रअले आफूले पटक पटक कोसिस गरे पनि विवादका कारण विद्यालय व्यवस्थापन समिति गठन नभएको स्वीकारे। स्थानीय बुद्धिजीवी र अभिभावक भने प्रअको चरम राजनीति हठका कारण विद्यालय धारासायी भएको बताउँछन्।