images

सिआइबीले लियो विनोद चौधरीसँग बयान 

काठमाडौं– बाँसबारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद एवम् उद्योगपति  विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।
बिहीबार बिहान  सरकारी वकिलको कार्यालयमा सांसद चौधरीको बयान लिइएको हो ।  बिहीबार बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैँ सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् । सरकारी जग्गा गैर कानुनी रूपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।

कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो ।

अरुणसँगै तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको छ ।