images

सरकारी पदाधिकारी तथा कर्मचारीलाई भत्ता नदिन अख्तियारको निर्देशन 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरूमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता नदिन निर्देशन दिएको छ ।
आयोगले बिदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न पनि भनेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विभिन्न मन्त्रालयहरूलाई पत्राचार गर्दै बैठक भत्तामा देखिएका विकृतिहरू हटाउन सुझाव दिइएको हो ।
सरकारी कार्यालयहरूमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन छ । भत्ताकै लागि बैठक बसाल्ने र कार्यालय समयभित्र कार्यालयको कामभन्दा यस्ता बैठकमा सहभागी हुने विकृति हरेक जसो सरकारी निकायमा छ ।
बैठक भत्तामा देखिएका यस्ता विकृतिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गरेको छ । यसकै आधारमा अख्तियारले बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई सो अवधिमा कार्यालयमै बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी गराउने कार्य प्रचलित कानुनको बर्खिलाप अनियमित कार्य हुने बताएको छ ।