images

अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई कारबाही गर्न समिति गठन

काठमाडौं–सुन तस्करी प्रकरणमा अनुसन्धानको क्रममा लापरबाही गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ । कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को समितिले बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिमा रिजालसँगै नेपाल प्रहरीका डिआइजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही छन् ।

रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्ने छ ।

आयोगले चार प्रहरीलाई विभागीय कारबाही गर्नुपर्ने भन्ने सिफारिस गरेको छ । तर कसलाई कस्तो कारबाही गरिनु पर्ने हो, कसको भूमिका के थियो भन्नेबारे रिजाल नेतृत्वको समितिले अध्ययन गर्नेछ ।

१ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्व न्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले प्रतिवेदन बुझाएको थियो ।