images

इलाम-२ मा एमालेबाट सुभासका छोरा सुहाङ उम्मेदवार 

काठमाडौं–नेकपा एमालेले इलाम क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।

आइबार बसेको एमालेको सचिवालय बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ मा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । २०७९ मङ्सिरको निर्वाचनमा विजयी एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते राति हृदयाघातबाट निधन भएपछि उक्त क्षेत्र रिक्त थियो । सुहाङ सुवासका कान्छा छोरा हुन् । सुहाङ पेसाले कानुन व्यवसायी हुन् ।

त्यस्तै एमालेले बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भण्डारी एमालेका बझाङ जिल्ला अध्यक्ष हुन् । बझाङ-१ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा पनि गरेको छ । बैठकले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव पनि दिएको छ । नयाँ सत्ता समीकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको एमालेको निष्कर्ष छ ।

एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहित उजुरी दर्ता भए राजीनामा दिनुपर्ने पनि स्पष्ट पारेको छ । कांग्रेसले राजनीतिक पूर्वाग्रहका साथ राजीनामा मागेको निष्कर्ष निकाल्दै एमालेले औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने छानबिनका लागि लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने बताएको हो ।

सहकारीमा जम्मा गरेको रकम ठगी भएर धेरै सर्वसाधारण पीडित भएको भन्दै उपमहासचिव प्रदीप ज्ञवालीले यसको छानबिन हुने स्पष्ट पारे । बैठकले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए । त्यस्तै एमालेले रुसको मस्को नजिकै कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतङ्ककारी हमलाको विरोध पनि गरेको छ