काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको कालिका नगरपालिकामा स्थित शक्ति खोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त विश्वास दिलाएका हुन् ।
चितवनको कालिका नगरपालिकामा शक्ति खोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्ति खोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको बताए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै भेटघाटमा सहभागी भएका अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।
उक्त भेटघाटका क्रममा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री वर्षमान पुन, नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविद् तथा अभियन्ता डा. बाबुराम ढुङ्गाना, बहिरा महासङ्घका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो ।