images

ढोलाहिटि हत्या प्रकरण: चार जना सार्वजनिक

काठमाडौं– ललितपुरको ढोलाहिटीमा २ जनाको ज्यान जाने गरी भएको घटना संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डिप्रस्पाइन रेस्टुरेन्टमा पुगेर मदिरा सेवन गरेका युवाबिच चक्कु हानाहान हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरले मङ्गलवार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका ४ जनासहित ५ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । अर्का एक जना भने फरार छन् । उनका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् ।

घटनाको अनुसन्धानका लागि थप ८ व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिबी र अपशब्द बालेको निहुँमा विवाद सिर्जना भएको पाइएको बताएको छ ।