images

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

काठमाडौं– जङ्गली हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।

शिवसताक्षी–११ स्थित रतुवा माई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी बुधवार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् ।

हात्तीको आक्रमणबाट उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटुवाल घाइते भएका छन् ।

घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्‍याएको प्रहरी प्रहरीले जनाएको छ । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ ।