images

नेपाल प्रहरीको एक वर्षे उपलब्धीः प्रहरी समायोजन हुँदै राजश्व  सङ्कलनसहित ५९ हजार बढी मुद्दा दर्ता

काठमाडौं–नेपाल प्रहरीले आफ्नो एक वर्षमा गरेको काम कारबाहीको बारेमा जानकारी गराएको छ ।  प्रहरीले एक वर्षमा देशभर ५९ हजार ६१ वटा घटनाका मुद्दा दर्ता भएको जनाएको छ । जसमा आत्महत्या जबरजस्ती करणी लगायतका मुद्दाको सङ्ख्या बढी छ । प्रहरीले जनशक्तिमा नियुक्ति बढुवा, अपराध अनुसन्धान, लागु औषधि बरामद,राजस्व सङ्कलन र  राष्ट्रिय चर्चामा आएका प्रमुख घटनाहरूको अनुसन्धान लगायतका विषयलाई उपलब्धिको सार्वजनिक गरेको हो ।
बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरी प्रहरीले २०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेसम्म गरेको कार्यसम्पादनको विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले नेतृत्वमा वसन्तबहादुर कुँवर आएपछि उल्लेख्य काम भएको दाबी गरे ।
यस अवधिमा भएका नियुक्ति, बढुवा, अपराध अनुसन्धान, लागू औषध बरामद, तथा राष्ट्रिय चर्चामा आएका ठुला घटनामा भएको अनुसन्धानलाई प्रहरीले उपलब्धिको सूचीमा राखेको छ ।
प्रहरीले २०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेको अवधिसम्म ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको जनाएको छ । जसमध्ये सबैभन्दा धेरै १७ हजार ३९७ अपराधको मुद्दा काठमाडौं उपत्यकाका जिल्लाहरूमा दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९६५ अपराधका मुद्दा दर्ता भएका छन् । प्रहरी प्रवक्ता ढकालका अनुसार देशभरमा बैङ्किङ कसुरका १३ हजार २७७ वटा मुद्दाहरू दर्ता भएका छन् ।
महिला तथा बालबालिका सम्बन्धी २१ हजार १९७ वटा घटनाहरू दर्ता भएको उनको भनाइ छ ।  जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदन दर्ता भई ८ हजार ३४९ निवेदनहरू मिलापत्र भएको छ । जबरजस्ती करणीको मात्रै २ हजार ४६८ वटा मुद्दा दर्ता भएको छ । महिला तथा बालबालिका सम्बन्धी अपराधहरू सबैभन्दा धेरै मधेस प्रदेशमा दर्ता भएको प्रवक्ता ढकालले जानकारी दिए । त्यसै गरी एक वर्षको अवधिमा आत्महत्याका ७ हजार १९४ घटनाहरू दर्ता भएका छन् । कोसी प्रदेशमा सबैभन्दा बढी १ हजार ५३० वटा घटना दर्ता भएका छन् ।
त्यसै गरी अपहरण तथा जबरजस्ती करणी, जबरजस्ती करणी गरी कर्तव्य, मानव बेचबिखन तथा जबरजस्ती करणी जस्ता गम्भीर प्रकृतिका अपराधहरू ५ हजार १५० वटा दर्ता भएका छन् । सो प्रकारका घटनाहरू सबैभन्दा धेरै कोसी प्रदेशमा १ हजार ६६ वटा र सबैभन्दा कम गण्डकी प्रदेशमा ३१२ वटा दर्ता भएको प्रहरीले बताएको छ । त्यसै गरी लागु औषधको ४ हजार २८४ वटा मुद्दा दर्ता भई ६ हजार ५०८ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीले विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममार्फत घटाइएका २१२ वटा विद्युतीय कसुर तथा साइबर अपराध दर्ता भएको जानकारी दिएको छ । एक वर्षको अवधिमा सहकारी संस्थामा भएका अनियमितता सम्बन्धी देशभरमा १४९ वटा मुद्दा दर्ता भई २७१ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारी प्रकरणका १ हजार ११० जना प्रतिवादीहरू फरार रहेका छन् । त्यसै गरी अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी १५२ वटा उजुरीहरू विभिन्न प्रहरी कार्यालयहरूमा परेकोमा १५ वटा उजुरीहरू दर्ता भई ६ वटा मिलापत्र भइसकेको र १४६ वटा अनुसन्धानको क्रममा रहेका छन् । प्रहरीले नेपालमा सवारी दुर्घटनाको डरलाग्दो तथ्याङ्क पनि सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको  छ। एक दिनमा ६५ वटा सवारी दुर्घटना हुने गरेको र ८३ जना घाइते हुने गरेको प्रहरीको तथ्याङ्क छ । नेपालमा जम्मा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता भएका र ट्राफिक प्रहरीको सङ्ख्या २ हजार ७७० जना रहेको उल्लेख प्रवक्ता ढकालले एउटा ट्राफिक प्रहरीले २ हजार २५२ वटा सवारी साधन हेर्नुपर्ने अवस्था रहेको बताए  । एक वर्षमा नेपाल प्रहरीले ६ अर्ब ६३ करोड करोड ३९ लाख ३२ हजार १ सय ७८ रुपैयाँ राजश्व उठाएको छ ।