images

दुई विषयका उत्तर पुस्तिका हराएपछि त्रिविले बनायो उच्चस्तरीय छानबिन समिति

काठमाडौं–त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा लिइएका दुई विषयका परीक्षाका उत्तर पुस्तिका हराएपछि उच्चस्तरीय छानबिन गर्न समिति गठन गरेको छ।

त्रिवि कार्यकारी परिषदको बिहीबारको बैठकले उत्तर पुस्तिका हराएको विषयमा विस्तृत छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

त्रिविका पूर्व रजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।

गत वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२ ) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय९कोड नं.४१२) का उत्तर पुस्तिकाहरू हराएको थियो।

त्रिविले एक प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समितिलाई ३० दिनको समय सीमा निर्धारण गर्दै प्रतिवेदन पेस गर्न भनिएको छ । हराएका उक्त विषयको यही चैत २१ गते पुनः परीक्षा गर्ने कार्य तालिका समेत सार्वजनिक भइसकेको छ ।

शिक्षा मन्त्री श्रेष्ठ भन्छिन्,उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य छ

उत्तर पुस्तिका हराएको समाचार सार्वजनिक भएसँगै शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविका त्यस्ता घटनाका बारेमा आफू जानकार भएको बताएकी छिन् । सामाजिक सञ्जाल ट्विट मार्फत शिक्षामन्त्री श्रेष्ठले लेखेकी छिन्, ‘नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा हामी जानकार छौँ । यसबाट परीक्षार्थीहरूमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शङ्काप्रति सबै सजग र संवेदनशील हुनै पर्छ । उत्तर पुस्तिका हराएका परिक्षार्थीहरूको पुनः परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइनन् । यस्ता घटनाहरू दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ ।’

त्यसै गरी मन्त्री श्रेष्ठले यसका लागि त्रि। वि। सभा तथा कार्यकारी परिषद्को सचिवालयले गठन गरेको समितिले निष्पक्ष, निर्भीक र परिणाममुखी कार्य गर्ने वातावरण बनाउन शिक्षा मन्त्रालयले हदैसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त रहेको उल्लेख गरेकी छिन् ।