images

त्रिविका उत्तर पुस्तिका हराउनेलाई तुरुन्तै कारबाही होस्ः सांसद भट्टराई

काठमाडौं–नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिविका उत्तर पुस्तिका हराउने जिम्मेवार व्यक्तिमाथि तत्काल कारबाही हुनु पर्ने माग गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराई उक्त माग गरेकी हुन् ।

उनले भनिन्,‘ ०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरूले नतिजा होइन उत्तर पुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशन सहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । यस प्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही समेत माग गर्दछु ।’

उनले त्रिविले वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्न नसकेको आरोप लगाइन । ‘क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय व्यवस्थित बनाइ क्लस्टरिङ बेसिसमा कपी जाँच गर्ने प्रणाली विकास गरी समयमा नतिजा प्रकाशन गर्ने प्रणाली विकाश गर्न त्रिविको पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् ।