images

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । । राजीनामा दिनुअघि बसेको मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए।

मङ्गलवार मुख्यमन्त्री निवासमा पोखरामा उपलब्ध सांसदहरूसँग पाण्डेले राजीनामा बारेमा छलफल गरेका थिए।

मुख्यमन्त्री पाण्डे पहिलेदेखि नै राजीनामा दिएर फेरि मुख्यमन्त्री बन्ने दाउमा छन्। त्यसैले उनले विश्वासको मत नलिएका हुन्।

विश्वासको मत लिनलाई उनले मङ्गलवार दिउँसो २ बजेसम्म प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्नेमा त्यसो गरेका थिएनन्।

१६८ को उपधारा ३ मा प्रदेश सभाको सबैभन्दा ठुलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने प्रावधान छ। यही प्रावधानअनुसार पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुने दाउ बनाएका छन्।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत पुर्‍याउन ३१ सदस्य चाहिन्छ। ठुलो दल कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८ ९सभामुखसहित०, राप्रपाको २ र स्वतन्त्र जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद छन्। राप्रपाले समर्थन नगरेसम्म कांग्रेस र एमाले माओवादी गठबन्धनको सरकार बन्न सक्ने अवस्था छैन।

कांग्रेसलाई राप्रपाले समर्थन गरेर मात्रै पुग्दैन। एमाले माओवादी गठबन्धनका एक जना सांसदले फ्लोर क्रस गर्नै पर्छ। नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका नेसपाका फणीन्द्र देवकोटाले फ्लोर क्रस गर्ने कांग्रेसको दाबी छ।