images

बल्खुस्थित साझाको पम्पबाट आज देखि २४ सैं घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत 

काठमाडौं– साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट आजदेखि २४ सैं घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहकाबीच बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुरुआत गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाँचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने सुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।  उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई २४ सैं घण्टा गरिने छ । कार्यक्रममा आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टलगायत सहभागी रहेका थिए