images

वैवाहिक बलात्कारको कसुरमा निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश 

काठमाडौं– निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।

वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती आरती रावलको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी थिइन् । बुधवार बहस चलिरहँदा न्यायाधीश गिरीकी श्रीमतीले विष सेवन गरेकी थिइन् । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।