images

कांग्रेसमा गुटगत विवाद बढेपछि इलाम र बझाङको उम्मेदवार टुङ्ग्याउन  सकस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षबिच विवाद बढेपछि इलाम र बझाङको उम्मेदवार चयन गर्ने दुई दिनदेखिको प्रयास असफल भएको छ ।

सभापति शेरबहादुर देउवाले इलाम २ मा दिवङ्गत एमाले नेता सुभासचन्द नेम्वाङसँग पराजित भएका डम्बरबहादुर खड्काको नाम प्रस्ताव गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्षले अस्वीकार गरेपछि उम्मेदवार चयन गर्ने प्रयास असफल भएको हो ।

उम्मेदवारको टुङ्गो लगाउनका लागि पुनः आज (बिहीबार) बैठक राखिएको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आकाङ्क्षी सबैलाई बोलाएर छलफल गर्न समय अपुग भएकाले बिहीबार पुनः छलफल गर्ने गरी बैठक राखिएको जानकारी दिए । ‘हामी बिहीबार उम्मेदवार टुग्याउँछौँ,’ उनले भने, ‘नाम प्रस्ताव भएर छलफल लगभग अन्त्यतिर पुगे पनि आकाङ्क्षी साथीहरूसँग पनि छलफल गर्नुपर्ने भएकाले अलिकति समय लम्बिएको मात्र हो ।’

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का डम्बरको पक्षमा छन् । तर, महामन्त्री थापा, शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता शेखर कोइराला भेषराज आचार्यलाई टिकट दिनुपर्ने पक्षमा उभिएका छन् । नेता शेखर कोइराला र शशाङ्क कोइराला पनि आचार्यकै पक्षमा उभिएपछि देउवा दबाबमा परेका हुन् । इतर पक्षले कुरै नसुनी, वस्तुस्थिति नबुझी एकलौटी निर्णय लिने हो भने जित हारको जस–अपजस लिन चुनौती दिँदै आएका छन् ।

इलामबाट डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो ।

एमाले, रास्वपा र राप्रपाले उम्मेदवार टुङ्ग्याएर चुनावी प्रचार थालिसक्दा पनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । २४ चैतमा उम्मेदवारी मनोनयनको निर्वाचन कार्य तालिका छ ।