images
images
images

मच्छिन्द्र एफसीले जित्यो विराट गोल्ड कपको उपाधि

काठमाडौं । आठौँ संस्करणको विराट गोल्ड कपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ ।
विराटनगरको सहिद मैदानमा शनिवार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम साङ्ग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजाते बनेको घरेलु टिम साङ्ग्रिलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । विराट गोल्ड कपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्ड कपमा भाग लिएको मध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र वाग्मती गोल्ड कपको उपाधि जितिसकेको छ । मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरुङ र युसुप थपलियाले गोल गरे । उनीहरूले दुवै गोल अतिरिक्त समयमा गरेका हुन । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।
अतिरिक्त समयमा साङ्ग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । युसुप थपलियाले प्रहार गरेको कर्नर साङ्ग्रिलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल क्लियर गर्न सकेनन् । त्यसपछि बाउन्स भएको बललाई छिरिङले हेड मार्फत सानदार गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औँ मिनेटमा युसुप थपलियाले लामो दूरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो । प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बू घोषित भए । उनले ११ हजार पाए । वेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, वेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफिन विनोङ घोषित भए । उनीहरूले जनही २१ हजार रुपैयाँ  पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।
फाइनलमा साङ्ग्रिलाले २५ औँ मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ३५ औँ मिनेटमा साङ्ग्रिलाका सुशील राईले गोल गर्ने अवसर खेर फाले । ४२ औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेफिन विनोङले वान भर्सेज वानको प्रहारलाई  गोलमा परिणत गर्न चुके । उनले गरेको प्रहार पोस्ट माथिबाट बल बारियो । ४३ औँ मिनेटमा मच्छिन्द्रका आयुष घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार पनि गोल हुन सकेन । उनले गरेको कडा प्रहार बाहिरिँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । पहिलो हाफसम्म गोलरहित खेल बराबरीमा सकियो । ५४ औँ मिनेटमा साङ्ग्रिलाका विवेक पौडेलले मध्य भाग बाट निकालेको पासलाई सुशील राईले डिबक्स भित्रबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो ।
८३ औँ मिनेटमा स्टेफिन विनोङले डिबक्स भित्रबाट गरेको प्रहार साङ्ग्रिलाका गोलकिपर विशाल सुनारले विफल पारिदिएका थिए । हारपछि साङ्ग्रिला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोल आत्मसाथ गर्न पुगेको बताए । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न पहिलाबाटै मानसिक रूपमा तयार रहेको बताए । ‘दबाबको बाबजुद पहिलो पटक विराट गोल्ड कपको उपाधि जित्नु हाम्रो गौरव हो,’ उनले भने, ‘यो सँगै हामीले इतिहास पनि रचेका छौँ ।’
विजेता हुने खेलाडीहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, विराट गोल्ड कप ट्रस्टका अध्यक्ष किशोर शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS