images

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

एशियाली क्रिकेट काउन्सिल एसीसीले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा नेपालको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । एसीसी प्रिमियर कप चैत ३० देखि ओमानमा हुँदैछ । टोलीमा रोहितसँगै कुशल भुर्तेल, आशिफ शेख, गुल्शनकुमार झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र प्रतिश जीसीले निरन्तता पाएका छन् । उनीहरूले गत वर्ष नेपालमै भएको प्रिमियर कपमा पनि टोलीमा स्थान बनाएका थिए ।

यस्तै, सन्दीप जोरा, अनिलकुमार साह र विवेकुमार यादवले टोलीमा स्थान बनाउँदा आरिफ शेख र भीम सार्की भने टोलीमा अटाएका छैनन् । यस्तै, युवा बलर आकाश चन्द पनि १४ सदस्सीय टोलीमा छैनन् । टी–२० फम्र्याटमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । समूह ‘बी’ मा आयोजक ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् । नेपालले समूह चरणको पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ ।

यस्तै, दोस्रो खेल कतारसँग १ वैशाख, तेस्रो खेल हङकङसँग ३ वैशाख र चौथो खेल साउदीसँग ५ वैशाख खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल ७ वैशाखमा हुने छ । सेमिफाइनल जित्ने दुई टोलीले ९ वैशाखमा फाइनल खेल्नेछन् । यो प्रतियोगिता जित्ने टोली सन् २०२५ मा टी–२० फम्र्याटमा आयोजना हुने एशिया कपमा पुग्नेछ । शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्नेछन् ।