images
images

अस्पताल निर्माणको काम अलपत्र पारेर ठेकेदार भागेपछि स्थानीय आक्रोशित

भोजपुर–भोजपुरको टेम्केमैयुङ ७ कोटमा निर्माण भइरहेको अस्पताल भवनको काम अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीय आक्रोशित भएका छन् । काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाहीको माग स्थानीय बासीले गरेका छन् ।

वि.स. २०७८ सालबाट दुई वर्षभित्र सम्पन्न गर्ने गरी १५ शय्याको अस्पताल निर्माण प्रक्रिया थालिएको थियो । तर ठेकेदारले मैदान सम्म्याएर, कम्पाउन्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्क विहीन भएपछि स्थानीय आक्रोशित भएका हुन् । खेती गरिरहेको जग्गा अस्पताल निर्माणको लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको हुनु पर्ने माग सहित आक्रोशित भएको स्थानीय भवानी नेपालले जानकारी दिए ।

अस्पताल सम्झौता अनुसार २०८० सालको असार महिनामा सम्पन्न गर्ने गरी भूमि हिमालय जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिदा करिब १० प्रतिशत काम गरेर ठेकेदार विवेश कार्की सम्पर्क विहीन बनेको गाउँपालिकाले जनाएको छ । काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरा ल्याएर आवश्यक प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ ।

अस्पताल भवन समयमा सम्पन्न गराउन पहल गरेको भए पनि ठेकेदार म्याद थप गर्नसमेत नआएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पछिल्लो समयमा आएर ठेकेदार सम्पर्क विहीन बनेको उनको भनाइ छ । गाउँपालिकाले आवश्यक सहयोग गर्दा पनि ठेकेदारले काम अलपत्र पारेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

अस्पताल निर्माणको कुल लागत भ्याट बाहेक। दश करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले ९१ लाख रुपैयाँ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । यहाँ अस्पताल बनेपछि टेम्केमैयुङको वडा नं ६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS