images

भारतबाट बिसु पर्व मनाउनकै लागि दैनिक सयौँको सङ्ख्यामा घर फर्कँदै सुदूरपश्चिमेलीहरु

कञ्चनपुर – रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेलीहरु बिसु पर्व अर्थात् नयाँ वर्ष मनाउनका लागि घर फर्किनँ थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहर गएका सुदूरपश्चिमका नौ वटै जिल्लाका बासिन्दाहरू कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढी नाकाबाट दिनहुँ हजारौँको संख्यामा घर फर्किइरहेका छन् । बिसु पर्व मनाउनका लागि नेपाल भित्रिने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको गड्डाचौकी सीमा नाका हेल्प डेस्कले जनाएको छ ।

भारतको हरियाणा, गुडिगाउ, हरिद्वार, काला पहाड, पन्जाब, सिमला, बागेश्वरी, देहरादुन, केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न सहरबाट यही चैत्र २२ गते देखि २६ गते सम्म ५ दिनमा मात्र भारतबाट नेपाल फर्कने पुरुष, महिला र बालबालिकाको सङ्ख्या ५ सय ९६ रहेको गड्डाचौकि हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले स्पेस समाचारलाई जानकारी दिए ।

चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्याले बढ्न थालेको हो । अन्य देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्ने लगायतका कारणले पनि धेरैजसो सुदूर पश्चिमेली रोजगारीका लागि भारत जाने गर्दछन् ।

लामो समयदेखि भारतको चेन्नेईमा रोजगार गर्दै आउनुभएका जोगी ओली र भागा अधिकारीले बिसु पर्व मनाउनकै लागि घर फर्केको बताए । यो पर्व वैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवर भाउजू, नन्द भाउजू र सालीभिनाजुहरूले एक आपसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ। साथै टिम्मुरका लट्ठीलाई रङ्गिन बनाएर बाघचाल खेल्ने समेत परम्परा रहेको छ ।

बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ । बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने, पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन्। केही दिन पहिलेदेखि नै अछाम, बाजुरा लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गर्ने प्रचलन रहेको छ । बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी गतानी डुब्का(स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ।

हिन्दु सम्राट् विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरूप पौराणिक कालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ। नयाँ वर्ष, बिसु तिहारका साथै चैते दसैँसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूर पश्चिमेली एक साताअघिदेखि नै घर फर्किने गर्दछन्।

विशेष गरी सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम,डोटी,डडेलधुरा, बझाङ , बाजुरा र बैतडीमा विशेष धूमधामका साथ यो पर्व मनाइने गरिन्छ ।

हरेक वर्ष बिसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्ष भरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजूबिच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ ।