images

सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरिदैं

काठमाडौं– सङ्घीय संसद्को चालू अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबिचमा सङ्घीय संसद्ले तीन वटा विधेयक पारित गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय भएको छ । यसै गरी, सरकारले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ ।

यस्तै, सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा। अन्जना शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।