images

राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं– आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिनलाई राम नवमीका रूपमा मनाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको सम्झनामा आज श्रद्धा र भक्तिपूर्वक देशभर राम नवमी पर्व मनाइँदै छ ।

सो अवसरमा बत्तिसपुतलीस्थित र पशुपतिनाथस्थित राम मन्दिर परिसरमा भक्तालुहरूको भीड लागेको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने राम नवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । त्रेता युगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी राम गीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ ।

बत्तिस पुतली राम मन्दिरका मूल पुजारी हरिप्रसाद अधिकारीले राम नवमी राक्षसहरूले देवताहरूलाई दुःख दिएर पृथ्वीले थाम्न नसकेपछि सबै देवताहरू भगवानकोमा गएको र म मनुष्य अवतारमा धर्तीमा जन्म लिएर राक्षसहरूको अन्त्य गर्नेछु भन्ने वचन दिएपछि देवताहरू आफ्नो लोकमा फर्किएको बताउनु शास्त्रमा रहेको बताउनु भयो । उहाँले पछि दशरथको पुत्र भएर जन्मिनुभएको र श्रीराम वनवास सवारी भएको बताउनु भयो । राक्षसहरू मार्दै गएर बाँदर सेनाको साथमा गएर लङ्कामा रावणको वध गर्नुभएको बताउनु भयो । उहाँले आज श्रीरामको जन्मदिन भएकाले जन्मोत्सव मनाइएको बताउनु भयो ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने धर्मग्रन्थमा उल्लेख छ ।